सीडीओहरुको बैठक बस्दै, काठमाडौं उपत्यकामा लकडाउनको निर्णय हुने

समाचार

काठमाडौं– काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो।

काठमाडौंको सीडीओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ। आजको बैठकले बढ्दो संक्रमण रोक्न उपत्यकामा केही दिनका लागि लकडाउनकाे निर्णय गर्न सक्ने बताइएको छ।

सक्रिय संक्रमितको संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका सबै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले बताए। समग्र उपत्यकालाई एकै स्थानमा राखेर लकडाउन हुन सक्ने उनले बताए।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ सयभन्दा धेरै रहेको उनको भनाइ छ। यो संख्या सिसिएमसीले तोकेको मापदण्ड भन्दा धेरै हो। कोभिड १९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।

सीसीएमसीले पहाडी (गाउँ क्षेत्र) मा दुई सय संक्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सिफारिस गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न नौ जिल्लामा आइतबारसम्म पाँच सय बढी सक्रिय संक्रमित छन्।

‘जिल्लगत रुपमा ५ सय संक्रमित ननाघे पनि उपत्यकालाई एउटै जिल्लाका रुपमा हेरिएको छ,’ सीडीओ भट्टराईले भने, ‘आजको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गर्न सक्छ।’ यद्यपि, सबैसँगको छलफलबाट मात्र निर्णय हुन सक्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *