नेपालको शान हाम्रो धरहरा यस्तो बन्यो ! जानुभन्दा अगाडी हेर्ने हैन त यो भिडियो !

समाचार

काठमाडौं । नेपालीहरूको बहुप्रतिक्षित धरोहर धरहरा देख्‍न मात्र होइन अब स्पर्श पनि गर्न पाइने भएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पले ऐतिहासिक नौतले धरहरा ध्वस्त भयो । क्षतिग्रस्त भएको ६ वर्षपछि अब भने धरहरा नयाँ स्वरुपमा देखिएको हो । क्षतिग्रस्त ऐतिहासिक धरहरा पुनर्निर्माणको काम तीन अर्ब ४८ करोडको लागतमा सम्पन्न भएको हो ।

ध्वस्त पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै अहिले २२ तले नयाँ धरहराको पुनर्निर्माणको भएको छ । बालकदेखि तन्नेरी र वृद्धा जुनसुकै उमेर समूहका मानिसका लागि अब भने धरहरा आकर्षणको केन्द्र बन्दै छ । कोरोना भाइरसको प्रभावलगायत कारणले तोकिएको समयभन्दा केही ढिलो भए पनि पुनर्निर्माणको काम सम्पन्न हुनु हामी नेपालीका लागि गौरवको विषय हो ।

४२ दशमलव ५ रोपनीमा फैलिएको धरहरा २२ तलाको बनेको छ । २२ तला भए पनि बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिन्छ । धरहराको जग २७ मिटर जमिनभित्र गाडिएको छ । जगमा दुई तलाको सपिङ सेन्टर पनि छ । धरहराको उचाइ ८७ मिटर छ । धेरैलाई लाग्न सक्छ धरहराको स्वरुप परिवर्तन भएको छ ।

तर होइन, यसको स्वरुप भीमसेन थापाको भीमसेन स्तम्भजस्तै देखिन्छ । झट्ट हेर्दा वास्तुकलामा उस्तै देखिएको छ । यसको प्रविधि र साइजमा केही परिवर्तन भएको छ भने बाँकी भागहरू उस्तै छन् । तर धरहरा पहिलेको भन्दा अत्याधुनिक प्रविधिसहित बनेको छ । काठमाडौंमै केन्द्रविन्दु भएर १० रेक्टर स्केलको भूकम्प आए पनि अब बनेको धरहरा नढल्ने निर्माण कम्पनी रमन कन्स्ट्रसनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठको दाबी छ ।

धरहराको २२औं तलाबाट बाइनाकुलरका माध्यमबाट काठमाडौं उपत्यकाको धेरै टाढाको भाग स्पष्टसँग अवलोकन गर्न सकिनेछ । धरहराको १८औँ तलामा २० देखि २५ जना बस्न मिल्ने खालको एउटा स्वचालित टीभी हल बनाइएको छ । यस्तै २१औँ तलामा मेसिनको सामग्री राख्ने ठाउँ हुनेछ भने, २२औँ तलामा गुम्बजको मुनि शिवमन्दिर निर्माण गरिएको छ । पुनर्निर्मित धरहरामा दुईवटा लिफ्टसहित एउटा फलामे भर्‍याङ छ । धरहरा पहिलेको भन्दा चौडाइमा निकै ठूलो छ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट आन्तरिक तथा बाह्‍य पर्यटकले धरहरा चढ्न सक्नेछन् । धरहराको २०औं तलामा पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्न सक्नेछन् ।

धरहराको उत्तरतर्फ अहिले ‘मिन्ट’ र ‘अर्थक्‍वेक’ सङ्ग्रहालय निर्माणको काम धमाधम भइरहेको छ । यो साढे ४ तलाको हुनेछ । धरहरा परिसरमा सर्वसाधारणले मनमोहक दृश्यहरूसहितको हरियाली बगैंचा, रेस्टुरेन्ट, पुस्तकालयलगायत सुविधा एक वर्षभित्र पाउनेछन् । यस्तै निर्माणधीन धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने गरी नेपालमै पहिलोपटक ‘म्युजिकल फाउन्टेन’ को व्यवस्था गरिँदै छ । धरहरा परिसरमा पुराना शैलीका करिब ३६ वटा ढुंगे धारा हुनेछन् ।

धरहराको पूर्वतर्फ अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसमा नेपालका मौलिक सामग्री वास्तुकला, काष्ठकला, धातुकलालगायत कलाकृति र नेपाली पहिचान झल्काउने सामग्री राखिनेछ । अहिले धरहरा वरपरको क्षेत्रमा पार्किङको ठूलो समस्या छ । त्यसलाई मध्यनजर गर्दै पहिले गोश्वारा हुलाक भएको ठाउँमा तीन तलाको पार्किङ स्थल निर्माण भइरहेको छ । पार्किङस्थलको माथि बगैंचा र पानीको फोहोरा हुनेछ ।

यहाँको मुख्य आकर्षण भनेकै धरहरा चढ्ने हो । त्यो पनि त्यहाँबाट काठमाडौंको दृश्य अवलोकन गर्ने हो । अब भने धरहराको २०औँ तलाको बालकोनीको बार्दलीबाट काठमाडौंको दृष्य मज्जाले अवलोकन गर्न सकिनेछ । कहिले धरहरा पुनर्निर्माण होला र चढुँला भन्ने पर्खाइमा रहेका युवायुवती धरहरा पुनर्निर्माण भएपछि दंग छन् ।

धरहरा पुनर्निर्माणको लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते २ वर्षसम्ममा सक्ने गरी सम्झौता भएको थियो । तर, कोरोना महामारी र अन्य विविध कारणले यसको पुनर्निर्माणमा केही ढिलो भयो । धरहरा पुनर्निर्माण र अन्य संरचना बनाउन दैनिक दुई सय मजदुरले काम गरिरहेका छन् ।

लकडाउनअघि भने ३५० जनाले काम गरेका थिए । आँखैअघि २०७२ सालको भूकम्पले ध्वस्त धरहरा पुनर्निर्माण भएपछि सबैको दुःखी मनमा अब खुसी भएको छ । तर सर्वसाधारणको भनाइ छ- ‘धरहरा ठड्याएर मात्र हुँदैन यसको उचित व्यवस्थापन पनि गरिनुपर्छ ।’

यता भूकम्पबाट बचेको धरहराको अवशेषलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम टेम्पर्ड ग्लासले छोपेर राखिनेछ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन भुइँचालो स्मारक जोगाइएको हो । भिमसेन थापाले निर्माण गरेको ऐतिहासिक धरहरा २०७२ को भुकम्पअघि आन्तरिक तथा बाह्‌य पर्यटकको मन लोभ्याउने पुरातात्विक सम्पदा थियो । भूकम्पले ध्वस्त भएपछि सबैको मन रोएको थियो । पुनर्निर्माणपछि सबै नेपालीको मन प्रफुल्लित छ । अझ व्यवस्थित गरेर यसको पुरातात्त्विक महत्त्व झल्काई आन्तरिक तथा बाह्‍य पर्यटकको मन लोभ्याउनतिर ध्यान दिइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *