कोरोनाका कारण भयावह अवस्था, अन्तिम संस्कारका लागि घण्टौं लाइन बस्नेहरुको दृष्य हृदय विदारक

समाचार

एजेन्सी । कोरोनाको दोस्रो लहर सुरु भएपछि छिमेकी मुलुक भारतमा हृदय विदारक दृष्य देखिन थालेको छ । दिनहुँ लाखौंको संख्यामा संक्रमित थपिन थालेका छन् । संक्रमितहरुले उपचार पाउन छोडेका छन् ।

संशोधनको अभाव भएकाले उपचार पाउन छोडेका हुन् । कोरोनाका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ ।

शव वाहनको लामो लाइन देखिन्छ । नेपालको बाँके, वर्दियासंगको सिमानाा रहेको भारत उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा अवस्था चिन्ताजनक छ । जसका कारण बाँके वर्दिया, दागं लगायतका नेपाली सिमानामा जोखिम बढेको छ ।

पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, त्यो हृदय विदारक छ । त्यहाँ सरकारको दावी र तथ्याङ्क मेल खाँदैन । कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन लिएर घाटमा आठदेखि दश घण्टासम्म प्रतीक्षा गर्नु परिरहेको अवस्थाले मन रुवाउँछ ।

लखनउको बैकुण्ठ धाम विद्युत शवदाह गृहमा अन्तिम संस्कारका लागि पुग्नेहरुको भिड छ । त्यहाँ दैनिक करिब २५ शवको अन्तिम संस्कार गरिन्छ । उक्त शवदाह गृहमा दिनभर शवको अन्तिम संस्कार हुन्छ । कर्मचारीले केही बेर पनि विश्राम गर्ने समय पाउँदैनन् ।

तर, सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा लखनउमा दैनिक औसत पाँचदेखि आठजनाको मृत्यु भएको देखिन्छ । यद्यपि, बैकुण्ठ धाम शवदाह गृहमा कोभिड प्रोटोकलअनुसार दैनिक २० भन्दा बढी शवको अन्तिम संस्कार भइरहेको छ ।

यस अतिरिक्त केही अन्य घाटमा पनि शवको अन्तिम संस्कार हुने गर्दछ । तर कोभिड संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार भने बैकुण्ठ धाममै हुने गर्दछ ।

पत्रकार शुरैह नियाजीका अनुसार मध्य प्रदेशको स्थिति बिग्रिँदै गएको छ । शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । राजधानी भोपालको भदभदा विश्राम घाटमा बिहीबार कोरोनाका कारण मृत्यु भएका ३१ जनाको अन्तिम संस्कार गरिएको थियो । यो घाटमा अन्य कारणले मृत्यु भएकाहरुको शव पनि अन्त्येष्टिका लागि ल्याउने गरिन्छ ।

बेवारिस शवको अन्तिम संस्कार गर्ने संस्था ‘जन संवेदना’ का राधेश्याम अग्रवाल पनि घाटको स्थिति भयावह बन्दै गएको बताउँछन् । उनका अनुसार घाटमा अन्तिम संस्कारका लागि अतिरिक्त ठाउँ बनाउनु परेको छ ।

उनले भने, ‘हामी जुन स्थितिबाट गुज्रिरहेका छौं, यसमा विद्युतीय शवदाह गृहको ठुलो आवश्यकता छ । तर तयार भइसकेको अवस्थामा पनि सरकारले यसलाई चलाउन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *