२८ हजार तलब खाने कर्मचारीकाे ४० करोडकाे सम्पत्ति, काठमाडौंमै घर र गाडी !

समाचार

काठमाडौं- २८ हजार पाँच सय रुपैयाँ तलब स्केल रहेको एकजना नायब सुब्बा सरहको विकास समितिको सरकारी कर्मचारीले वर्षमा कति बचत गर्छ होला ? ३ लाख ६० हजार ? ग्रेड, भत्ता, काज र अन्य समेत जोडेर बढीमा ५ लाख ?

धेरै कर्मचारी भन्छन् ‘तलबमान निकै कम छ, परिवार समेत पाल्न धौधौ हुने अवस्थामा के को बचत हुनु, छोराछोरी समेत शहरमा राखेर पढायो भने उल्टो ऋण लाग्छ ।’तर नेपालकै सरकारी सेवामा यस्ता एक कर्मचारी फेला परेका छन् जसले विकास समिति अन्तर्गतको सरकारी सेवामा वरिष्ठ व्यवस्थापन सहायक (पाचौँ तह) पदमा जागिर गर्दा गर्दै करिब ४० करोडको ब्यापार शुरु गरेका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका भण्डारीले बिध म्यानेजमेन्ट प्रालि नामक कम्पनी खोजेर ल्याव, गाडी खरिद, कोरोना परिक्षण किटको ब्यापार लगायतका क्षेत्रमा लगानी गर्नुका साथै घर समेत किनेर करिब ४० करोड लगानी गरेको फेला परेको हो । गएको बैशाखसम्म ३ वर्ष ७ महिना जागिर खाएका उनले गत साउन १ गते जागिरबाट राजिनामा दिएका छन् ।

को हुन उनी र कति थियो पुर्ख्यौली सम्पत्ति ?नेपालका धेरैजसो नाम चलेका र पहुँचवाला मिडियामा पैसा तिरेर चर्को विज्ञापन गरिरहेको कम्पनी बिध ल्याब उनैले सञ्चालन गरेका छन् । जसमा उनी बिके भण्डारीको नामले परिचय दिन्छन् ।गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन ।

स्थानीय विकास मन्त्रालय स्राेतले उपलब्ध गराएकाे सम्पत्ति विवरण अनुसार २०७१ माघ २२ गतेसम्म भण्डारीले बुबाको नाममा १ रोपनी बारी, २ रोपनी खरबारी र ३ रोपनी खेत तथा हजुरबुबाको नाममा १४ रोपनी पुर्ख्यौली बारी रहेकाे विबरण बुझाएका छन् । सबै परिवारको जम्मा गर्दा उनको परिवारसँग २० रोपनी १२ आना जग्गा रहेको देखिन्छ ।

त्यस्तै पुर्ख्यौली सम्पत्तिकै रुपमा ३ तोला सुन, ५ तोला चाँदी र ३ लाख नगद रहेको विवरणमा उल्लेख रहेकाे मन्त्रालयबाट प्राप्त विवरणमा उल्खेख छ । त्यो बेलासम्म भिमकान्तको नाममा विभिन्न बैंक खातामा २ लाख ४५ हजार र विमलाको नाममा १७ हजार थप नगद भएको समेत देखिन्छ ।

त्यसका साथै ३६ हजारको डेस्कटप, ५६ हजारको ल्यापटप र ३ थान मोवाइलसेट समेत रहेको विवरण उनले बुझाएकी छन् ।नगद र जिन्सी हिसाव गर्दा २०७१ को माघ २२ गतेको मूल्य अनुसार बढीमा ५ लाख ४० हजार बराबर रहेको उनीहरुको आर्थिक हैसियत त्यस यताको ५ वर्षमा भने एकाएक करोडौंमा पुगेको छ ।

कसरी आयो ४० करोड लगानी ?प्राप्त जानकारी अनुसार भण्डारी सरकारी जागिरमा नियुक्त भएपछि २०७३ असोज २० गते देखि १० दिनमात्र कार्यालयमा हाजिर भएर दँशैविदामा घर फर्केका थिए । दँशैपछि कार्यालयमा पुगेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका लागि काज मिलाएर आएका उनी त्यसपछि ४ वर्ष आफ्नो कार्यालय फर्केनन् ।

स्थानीय विकास मन्त्रालय, अर्थमन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए ।उनी उर्जामन्त्रीको सचिवालयमै रहेको समयमा विश्वमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लियो ।

त्यसपछि उनि भाइरसको एण्टीबडी परिक्षण गर्ने आरडीटी किट बेच्ने ब्यापारीको रुपमा एकाएक देखा परेका थिए । कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुपको ठेक्का प्रकृयामा अनियमितता र कमसल सामग्री ल्याएको भनेर बाहिरिए लगत्तै सरकारसँगको ब्यापमा उनी जोडिएको देखिन्छ ।

सरकारी जागिरबाट अप्रत्यासित रुपमा ब्यापारीको रुपमा देखा परेको उनले स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखासँग १९ वैशाख २०७७ मा शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिद सम्झौता गरेका थिए । त्यसपछि पटक पटक गरेर भण्डारीको स्वामित्व रहेको विध ल्याबले चीनबाट रु. २२ करोड ८५ लाख ६१ हजार ५६० को आरडीटी किट मात्रै खरिद गरेर सरकारलाई बिक्री गरेको स्वास्थ्य सेवा विभागको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई सामग्री खरीद गर्ने ठेक्का दिएको बिषयमा स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीले समेत चर्को बिरोध गरेका छन् ।त्यस्तै कोरोना भाइरस पत्ता लगाउन पीसीआर परिक्षण गर्ने भनेर ललितपुरको कुपण्डोलमा खोलेको बिध ल्याबमा भण्डारीले गाडी समेत गरेर १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको उनी निकट स्रोत बताउँछ ।

‘यसरी सामान्य रुपमा पनि उनले देखाएको लगानी ४० करोड भन्दा धेरै छ,’ उनीसँग निकट नेकपा (माओवादी केन्द्र)का भट्टराई थरका नेता भन्छन्, ‘यसबाहेक उनले काठमाडौंमै ३ करोड भन्दा धेरै मूल्य पर्ने घर समेत खरिद गरेको हामीसँग बताएका छन् ।’हालै उनले पोखराको पृथ्वीचोकमा समेत शाखा सञ्चालन गरेका छन् । त्यहाँ अहिले सुगरदेखि थाइराइडसम्म परिक्षण गर्न थालिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार सो कम्पनी शुरुमा अन्य २ जना व्यक्तिको नाममा यातायात सम्बन्धि काम गर्नका लागि २०७६ जेठमा दर्ता भएको थियो । नेपालमा कोरोना भाइरस संक्रमणको समयमा उनले सो कम्पनीको स्वामित्व आफ्नो एकल नाममा सारे ।त्यसपछि बाराका दिपेश भन्ने व्यक्तिलाई १० हजार कित्ता सेयर दिएर उनले स्वास्थ्य सम्बन्धि कारोबार गरेका छन् । कम्पनीमा प्रवन्धपत्र संसोधन गरि ब्यापार गर्ने उद्धेस्य थपिएको भएपनि ल्याब खोल्ने भन्ने विषय कतै उल्लेख छैन ।

सिँहदरबारभित्र विभिन्न मन्त्रीको सचिवालयमा रहेका बखत उनको त्यो सम्पत्ति सिँहदरबारबाटै भित्र्याएको माओवादी नेता भट्टराईले बताए ।कम्पनी दर्तादेखि आरडीटी किटको ब्यापार गर्दासम्म उर्जामन्त्रीको सचिवलायमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए ।

तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगइ तालुक अड्डामा नै बसेका छन् ।भण्डारीले २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाट तलब बुझेको ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान झापाका सूचना अधिकारी सुरेश भट्टराइले बताए ।भण्डारीले गत साउन १ गतेदेखि लागुहुने गरि राजिनामा दिएको उनले जानकारी दिए ।

यद्धपी राजिनामा दिनु अघि गत जेठमा नै उनले ब्यापार शुरु गरेका थिए ।यसबारेमा जानकारी लिन खोज्दा ल्याबका अध्यक्ष भण्डारी सम्पर्कमा आउन चाहेनन् । ल्याबका म्यानेजर रबिशंकर पोख्रेलले आफूलाई लगानीको श्रोतबारे जानकारी नभएको र भण्डारीको नम्बर दिन नमिल्ने बताए । यो समाचार आजको अर्थबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *