ट्याक्टर र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

विराटनगर : मोरङ र सुनसरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना शुक्रबार बिहान र बिहीबार राति भएका हुन्। दुर्घटनामा परेर घाइते भएका एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। बिहीबार राति भएको घटनामा परेर ट्याक्टर चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादवको मृत्यु भएको खड्काले बताए।

खड्काका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति १०:३० बजेतिर ज्यान गएको हो। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परेको ट्याक्टरले किचेको अवस्थामा उद्धार गरेर यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो। प्रहरीले तीव्र गतिका कारण ट्याक्टर दुर्घटनामा परेको जनाएको छ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित कोसी राजमार्गमा शुक्रबार बिहान ४ बजेतिर भएको ट्रक दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ।
दुर्घटनामा तत्काल ठेगाना खुल्न नसकेका ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए। उनका अनुसार ट्रकले च्यापेर मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको थियो।

दक्षिणतर्फ आइरहेको ना ६ ख ६५५१ नम्बरको ट्रक ‘ब्रेक फेल’ भएर दुर्घटनामा परेको शर्माले बताए। दुर्घटनाग्रस्त ट्रक सडकबाट ५० मिटर तल खसेको थियो। ट्रकका चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय सुनिलकुमार भगतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *