भारत : दिल्ली प्रहरीले ‘विदेशी षड्यन्त्र’ भनेको ‘टूलकिट’ के हो ?

समाचार

भारतमा किसान आन्दोलनसँग कथित रूपमा जोडिएको एक ‘टूलकिट’ लाई दिल्ली प्रहरीले जाँच गर्न सुरु गरेको छ ।

यो त्यही टूलकिट हो, जसलाई स्वीडेनकी पर्यावरणविद् ग्रेटा थनबर्गले ट्विटरमा शेयर गर्दै लेखेकी थिइन्, ‘यदि तपाईँ किसानलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईँ यस टूलकिट (दस्तावेज) को मदत लिन सक्नुहुन्छ ।’

तर दिल्ली प्रहरीले यसलाई ‘मानिसमा विद्रोह निम्त्याउने दस्तावेज’ बताउँदै जाँचको दायारामा लिएको छ ।

प्रहरीले यस टूलकिट लेख्नेलाई खोजी गरिरहेको छ । प्रहरीले यस टूलकिट लेख्नेविरुद्ध आईपीसीको धारा १२४ए, १५३ए, १५३, १२०बी अनुसार मुद्दा दर्ता गरेको छ । यद्यपि दिल्ली प्रहरीले मुद्दामा कसैको पनि नाम उल्लेख नभएको बताएको छ ।

समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘प्रहरी गूगललाई एक पत्र लेख्दैछ, जसको माध्यमबाट यस टूलकिट बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिको आईपी एड्रेस पत्ता लगाउन सकियोस् ।’

दिल्ली प्रहरीका विशिष्ट कमिस्नर प्रवीर रञ्जनको भनाइ छ, ‘पछिल्ला दिनमा झण्डै तीन सय यस्ता सोसल मिडिया ह्याण्डल पाइएको छ, जसको प्रयोग धृणित र निन्दनीय सामग्री फैलाउनका लागि प्रयोग भइरहेको छ । केही पश्चिमी इन्टरनेट अर्गनाइजेशनद्वारा यिनको प्रयोग भइरहेको छ, जसले किसान आन्दोलनका नाममा भारत सरकारविरुद्ध गलत प्रचार गरिरहेको छ ।’

केन्द्रीय मन्त्री प्रकाश जावडेकरले यसलाई ‘विदेशी षड्यन्त्र’ बताएका छन् । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘अहिले चर्चा भइरहेको टूलकिटको विषय निकै गम्भीर छ । केही विदेशी शक्ति भारतलाई बदनाम गर्ने प्रयास गरिरहेको प्रस्ट छ ।’

दिल्ली प्रहरीले फेब्रुअरी ४ मा पत्रकार सम्मेलनमा ‘यो टूलकिट खालिस्तानी समर्थक सङ्गठन पोएटिक जस्टिस फाउण्डेशनद्वारा बनाइएको, यसलाई पहिलो अपलोड गरिएको र फेरि केही दिनपछि हटाइएको’ बताएको थियो ।

केही मिडिया रिपोर्ट्समा दिल्ली प्रहरीको स्रोतलाई उद्धृत गर्दै भनिएको थियो, ‘यस संस्थाका सहसंस्थापक मो धालीवाल आफूलाई खालिस्तान समर्थक बताउँछन् र क्यानडाको भ्यानकुभरमा बस्छन् ।’

यद्यपि सत्तारुढ राजनीतिक दलका सदस्य पटक–पटक ‘किसानको भइरहेको आन्दोलन एक प्रायोजित कार्यक्रम भएको र खालिस्तानी समर्थक यस आन्दोलनको हिस्सा भएको’ बताउँदै आएका छन् ।

टूलकिटकाे पहिलाे पाना
टूलकिटकाे पहिलाे पाना

टूलकिट के हो ?

अहिले विश्वका अलग–अलग ठाउँमा भइरहेका जति पनि आन्दोलन् छन्, चाहे त्यो ‘ब्ल्याक लाइभ्स म्याटर’ होस्, अमेरिकाको ‘एन्टी–लकडाउन प्रोटेस्ट’ होस्, पर्यावरणसँग जोडिएको ‘क्लाइमेट स्ट्राइक क्याम्पन’ होस् या अरु कुनै आन्दोलन होस्, सबै ठाउँको आन्दोलनसँग जोडिएका केही व्यक्तिले ‘एक्शन प्वाइन्ट्स’ तयार गर्छन्, अर्थात् आन्दोलनलाई अघि बढाउन केही त्यस्तो योजना बनाउँछन् ।
जुन दस्तावेजमा यी ‘एक्शन प्वाइन्ट्स’ उल्लेख गरिन्छ, त्यसलाई टूलकिट भनिन्छ ।

‘टूलकिट’ शब्द यस दस्तावेजका लागि सामाजिक सञ्जालको सन्दर्भमा धेरै प्रयोग हुन्छ तर यसमा सामाजिक सञ्जालको रणनीतिका साथै भौतिक रुपमा सामूहिक प्रदर्शन गर्ने जानकारी पनि दिइन्छ ।
विशेषगरि भइरहेका आन्दोलनको प्रभाव बढाउन सहयोग पुगोस् भन्नका लागि टूलकिट ती व्यक्तिबीच शेयर गरिन्छ ।

यस्तोमा टूलकिटलाई कुनै आन्दोलनको रणनीतिको मुख्य हिस्सा भन्न गलत हुँदैन ।

टूलकिटलाई भित्तामा लगाइने पोस्टरको परिष्कृत र आधुनिक रुप भन्न सकिन्छ । जसको प्रयोग वर्षाैँदेखि आन्दोलन गर्ने व्यक्ति अपिल या आह्वान गर्नका लागि गरिँदै आएको छ ।

सामाजिक सञ्जाल र बजार विशेषज्ञका अनुसार यस दस्तावेजको प्रमुख उद्देश्य व्यक्ति (आन्दोलनका समर्थक) मा समन्वय स्थापित गराउनु हुन्छ । टूलकिटमा सामान्य भाषामा मानिसहरु के लेख्न सक्छन्, कुन ह्याशट्याग प्रयोग गर्न सक्छन्, कुन समयदेखि कुन समयसम्म ट्वीट वा पोस्ट गर्न फाइदा हुन्छ र कसलाई ट्वीट्स या फेसबुक पोस्टमा सामेल गर्दा फाइदा हुन्छ भन्ने कुरा बताइन्छ ।

जानकारहरुका अनुसार एकै समयमा मानिसको एक्शनबाट कुनै आन्दोलन या अभियानको बारेमा थाहा हुन्छ, अर्थात् सामाजिक सञ्जालमा ट्रेण्ड्समा आउँछ र फेरि त्यसको माध्यमबाट मानिसको नजरमा आउनका लागि यस किसिमको रणनीति बनाइन्छ ।

आन्दोलनकारी मात्रै होइन, सबै राजनीतिक पार्टी, ठूला कम्पनीहरु र अन्य सामाजिक समूह पनि विभिन्न अवसरमा यस्ता टूलकिटको प्रयोग गर्छन् ।

गएको तीन फेब्रुअरीमा ग्रेटा थनबर्गले किसानको समर्थनमा एक ट्वीट गरेकी थिइन् । त्यही दिन एक अर्काे ट्वीटमा ग्रेटाले एक टूलकिट पनि शेयर गरेकी थिइन् र मानिसहरुलाई किसानको मदत गर्न अपिल गरेकी थिइन् । तर पछि उनले त्यो ट्वीट हटाइन् र भनिन्, ‘जो टूलकिट मैले शेयर गरेँ, त्यो पुरानो थियो ।’

फेब्रुअरी चारमा ग्रेटाले एक पटक फेरि किसानको समर्थनमा ट्वीट गरेकी थिइन् । साथै उनले एक अर्काे टूलकिट शेयर गरिन्, त्योसँगै उनले लेखेकी थिइन्, ‘यो नयाँ टूलकिट हो, यसलाई यस समय भारतमा जमिनमा काम गरिरहेका व्यक्तिहरुले बनाएका हुन् । यसको माध्यमबाट तपाईँ चाहनुहुन्छ भने सहयोग गर्न सक्नुहुन्छ ।’

यो टूलकिटमा के छ ?

तीन पानाको यस टूलकिटमा सबैभन्दा माथि एक नोट लेखिएको छ, जसका अनुसार ‘यो एक दस्तावेज हो, जसले भारतमा चलिरहेको किसान आन्दोलनबाट अपरिचित व्यक्तिलाई कृषि क्षेत्र र वर्तमान स्थिति र किसानको अहिलेको प्रदर्शनको बारेमा जानकारी दिन्छ ।’

नोटमा लेखिएको छ, ‘यस टूलकिटको उद्देश्य मानिसले कसरी आफ्नो विवेक प्रयोग गरेर किसानको समर्थन गर्न सक्छन् भन्ने बताउनु हो ।’

यस नोटपछि, टूलकिटमा भारतीय कृषि क्षेत्रको वर्तमान स्थितिमा कुरा गरिएको छ । भरतमा साना र सीमान्त किसानको सङ्ख्या सबैभन्दा धेरै भएको र उनीहरुको अवस्था खराब रहेको टूलकिटमा बताइएको छ ।

टूलकिटमा किसानलाई भारतीय अर्थव्यवस्थाको ‘मेरुदण्ड’ बताइएको छ । त्यसमा लेखिएको छ, ‘ऐतिहासिक रुपमा हँसिया लिएर उभिएका यी किसानलाई पहिला सामन्ती जमिनदारले शोषण गरे । त्यसपछि

उपनिवेशवादीहरुले र फेरि सने १९९० को दशकमा ल्याइएको भूमण्डलीकरण र उदारीकरणको नीतिले उनीहरुले कमर नै तोडियो । त्यसपछि आज पनि किसान ‘भारतीय अर्थव्यवस्थाको मेरुदण्ड हुन् ।’

टूलकिटमा आत्महत्या गर्न बाध्य किसानका बारेमा पनि बताइएको छ । साथै कृषि क्षेत्रमा निजीकरणलाई विश्वकै समस्या भएको बताइएको छ ।

यसपछि टूलकिटमा लेखिएको छ, ‘मानिसहरु तत्काल यसबारेमा के गर्न सक्छन् ।’

टूलकिटले सुझाव दिएको छ, ‘मानिसहरु र ह्याशट्यागको प्रयोग गर्दै किसानको समर्थनमा ट्वीट गर्न सक्छन् ।’ रिहाना र ग्रेटा थनबर्गले आफ्नो ट्वीट्समा ह्याशट्यागको प्रयोग गरेका थिए ।

टूलकिटमा लेखिएको छ, ‘मानिसहरु आफ्ना स्थानीय प्रतिनिधिहरुलाई मेल गर्न सक्छन्, उनीहरुलाई फोन गर्न सक्छन् र किसानका बारेमा के कदम चालिँदैछ भनेर सोध्न सकिन्छ ।’

टूलकिटमा किसानको समर्थनमा केही अनलाइन–निवेदन साइन गर्न अपिल पनि गरिएको छ, जसमध्ये एक अनलाइन–निवेदन तीनै कृषि कानुन फिर्ता लिनेको छ ।

टूलकिटमा मानिसहरुसँग आह्वान गरिएको छ, ‘तपाईँहरु सङ्गठित भएर १३–१४ फेब्रुअरीमा नजिकको भारतीय दूतावास, सञ्चार संस्थान र सरकारी कार्यालयबाहिर प्रदर्शन गुर्नस् र आफ्नो तस्बिर र सँगै सामाजिक सञ्जालमा राख्नुस् ।’

टूलकिटमा किसानको समर्थनमा भिडयो बनाउन, फोटो शेयर गर्न र आफ्नो सन्देश लेख्न पनि आह्वान गरिएको छ । यसमा मानिसहरुलाई किसानको समर्थनमा प्रधानमन्त्री कार्यालय, कृषि मन्त्री र अन्य सरकारी संस्थानको आधिकारिक ट्विटर ह्याण्डल समावेश गरेर पोस्ट गर्न सुझाव दिइएको छ ।

टूलकिटमा दिल्लीसँग जोडिएका सहरका किसानको एक परेड या मार्च निकाल्ने कुरा उल्लेख छ र मानिसहरुलाई त्यसमा सहभागी हुन अपिल गरिएको छ ।

बिहीवार दिल्ली प्रहरीका विशिष्ट कमिस्नर प्रवीर सञ्जनले टूलकिटको यही प्वाइन्टमा जोड दिँदै भनेका थिए, ‘टूलकिटमा कसरी डिजिटल स्ट्राइक गर्ने, कसरी ट्विटर तताउने र के भौतिक एक्शन हुन सक्छ भनेर बताइएको छ । जनवरी २६ मा जे भयो, त्यो सबै यही योजनाअनुसार भयो, यस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *