अब ट्राफिक जरिवाना तिर्न बैंकमा धाउन नपर्ने

समाचार

काठमाडौं । अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको हो ।

महाशाखाले आजदेखि ट्राफिक जरिवाना नयाँ सफ्टवेयर (टीभीआरएस-ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत तिर्न सकिने व्यवस्था गरेको हो ।

अब जरिवाना बापतको रकम ई–सेवाबाटै भुक्तानी गर्न मिल्ने महाशाखाले जनाएको छ ।

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने बाध्यता थियो ।

नयाँ व्यवस्थासँगै अब ट्राफिक कारबाहीमा पर्ने सवारीसाधन तथा चालकहरु बैंकमा लाइन बसेर जरिवाना तिर्नुपर्ने बाध्याताबाट मुक्त भएका छन् ।

नाघ्यो २१ दिने म्याद, उखु किसानको २० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी

चिनी उद्योगीहरुले उखु किसानको बक्यौक्ता रकममध्ये ५१ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

कुल ७० करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकोमा ५१ करोड रुपैयाँ मात्र भुक्तानी भएको हो ।बाँकी २० करोड ९५ लाख रुपैयाँ अझै चिनी मिलहरुले भुक्तानी गरेका छैनन् ।

सो मध्ये श्रीराम सुगर मिलले उखु किसानको सबै रकम भुक्तानी गरेको दाबी गरेको छ । श्रीराम सुगर मिलले ४० करोड ४६ लाख भुक्तानी गर्नुपर्नेमा ३५ करोड ७५ लाख ४४ हजार किसानको खातामा गएको छ ।

बाँकी ४ करोड ७० लाख ५६ हजार रूपैयाँ किसानको विवरण नमिल्दा बैंकमा रोकिएको श्रीराम मिलले जनाएको छ ।

भुक्तानी गर्न बाँकी रहेका ४ मिलमध्ये अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले भने हालसम्म पुरा भुक्तानी गरेका छैनन् ।लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख भुक्तानी गर्नुपर्नेमा ४ करोड १६ लाख तिरेको छ ।

उक्त उद्योगले थप ४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको छ ।

अन्नपूर्ण र इन्दिरा मिलले भने किसानको भुक्तानी गर्न अझै बाँकी रहेको छ ।

अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा ११ करोड २७ लाख किसानको खातामा पठाएको छ भने ५ करोड ७३ लाख रुपैयाँ अझै बाँकी छ ।

यसैगरी इन्दिरा सुगर मिलले ४ करोड ७० लाख भुक्तानी गर्नुपर्नेमा १ करोड ५० लाख रूपैयाँ बैंक खातामा पठाएको छ ।

अब उक्त उद्योगले ३ करोड २० लाख रुपैयाँ खातामा पठाउनु पर्ने मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा रहेको अन्नपूर्ण र नवलपरासीको इन्दिरा सुगर मिलले कुल २२ करोड रुपैयाँ बढि भुक्तानी गर्न बाँकी रहेको थियो ।

अन्नपुर्ण र इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवालले हालसम्म कुल १२ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।

अन्नपुर्ण र इन्दिरा चिनी मिलका सञ्चालक अग्रवालले दैनिक १ करोड रुपैयाँ उखु किसानको खातामा भुक्तानी गर्ने बताएका थिए ।

उनले गत पुस ७ गते विज्ञप्ती जारी गर्दै भुक्तानी गर्ने जनाएका थिए ।

सरकारले गत पुस १३ गते चिनी मिल र उखु किसानबीच २१ दिन भित्र भुक्तानी गर्ने गरी सम्झौता गराएको थियो ।

माघ ५ गते २१ दिन पुरा भएको छ । तर आजसम्म किसानको रकम पुरा भुक्तानी हुन सकेको छैन ।मन्त्रालयका प्रवक्ता नारायण प्रशाद रेग्मीले उखु किसानको रकम भुक्तानी भइरहेको बताएका छन् ।

उनले सबै चिनी मिलहरुले उखु किसानको रकम भुक्तानी गरिरहेको बताए ।

‘चिनी उद्योगीहरुले उखु किसानको पैसा तिरिरहेका छन् तर सबैले पुरै पैसा तिर्न भने अझै सकेका छैनन्,’ रेग्मीले चाणक्यपोष्टसँग भने ।

५ वर्ष यता उखु किसानहरुले उखुको मूल्य पाउन प्रत्येक वर्ष काठमाडौँं धाउनु परेको छ ।यो वर्ष उद्योगीहरुकै मिलेमतोमा किसानले बेच्ने उखुको मूल्य प्रति क्विन्टल ५ सय ४४ रुपैयाँ मूल्य निर्धारण गरियो ।

तर, आजसम्म पनि निधारण गरिएको मूल्य किसानले समयमै पाउन सकेका छैनन् ।

किसानको भुक्तानीका लागि सिधै बैंक खातमा जाने व्यवस्था मिलाएको भए पनि रकम भुक्तानी नगर्नेलाई सरकारले प्रभावकारी ढंगले कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

उखुमा मात्र नभई मल, बीउ, हरेक क्षेत्रमा सधै किसान पिडित हुनु परेको र ठगिने गरेका छन् । यस विषयमा राज्य जवाफदेहि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *