यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

अन्तरास्ट्रिय

इस्लामाबाद, २० माघ (रासस–सिन्ह्वा) –– पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।

यो पनि : भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको जनाएको छ ।

यसअघि गत बर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका थिए । भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । विश्वभरी धेरै सङ्क्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा सङ्क्रमित रहेका छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना सङ्क्रमित भएका छन् ।

त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा सङ्क्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार अमेरिकामा चार लाख ५४ हजार, ब्राजिलमा दुई लाख २५ हजार, मेक्सिकोमा एक लाख ५९ हजार, भारतमा एक लाख ५४ हजार, बेलायतमा एक लाख ६ हजारको कोरोना संक्रमणबाट मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *