देशभर अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान

समाचार

एजेन्सी । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन्।

अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारिन्।

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी थप बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ।

अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गरेकी छन्।

त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ।

आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल गरेकी थिइन्।

क्रिसमस, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका छन्।

‘देशमा कोरोना भाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ,’ बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले भनिन्।

चान्सलर मर्केलको आह्वानलाई आफूले आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने अठोट लिएको उनले बताएकी छन्।

जर्मनीमा यसअघि पनि धेरै नियन्त्रणका व्यवस्थाहरू लागू गरेकाले महामारी न्युनीकरण भएको थियो।

तर अहिले फेरी अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *